मारुती सिमेण्ट उद्योगका कारण खेतीयोग्य जमीन वगरमा परिणत हुँदै

पूर्वेली टाईम्स March - 28 - 2012 0 प्रतिकृया

• सम्बन्धित निकाय मौन
• प्रदुषण पीडित आन्दोलनको तयारीमा

केहिवर्ष अगाडि उत्पादन सुरु गरेको मारुती सिमेण्ट उद्योग सञ्चालनका लागि प्रयोग गरिने चुनढुङ्गा मापदण्ड विपरित खोलबाट झिक्दा हजारौं हेक्टर खेतीयोग्य जमीन वगरमा परिणत भएको छ । स्थानियवासीहरुमा विकराल समस्या उत्पन्न हुँदासमेत सरोकारवाला निकाय मौन रहेको छ । उद्योगको खानी क्षेत्र सिन्धुली जिल्लाको ककुर ठाकुर गाउँ बिकास समितिमा रहेको चुनढुङ्गा उत्खनन् कार्य मापदण्ड विपरित हुँदा आसपासका हजारौं हेक्टर खेतीयोग्य जमीन मरुभूमिमा परिणत भएका हुन् ।
ककुर खोलाको शीरमा चुनढुङ्गा उत्खनन गर्दा खोलाको पानी सधैं धमिलो हुने र सोही पानी खेतमा सिँचाई गर्दा अन्न उत्पादनमा ह्रास आउनुका साथै हजारौं हेक्टर जमीन मरूभूमिमा परिणत भएको स्थानीयबासीले बताएका छन् ।

सिमेण्ट उद्योगको लागि ढुंगा लोड गर्दै ट्रिपरहरु । (फोटो - रामप्रसाद भट्टराई)




खेतीयोग्य जमीन बगरमा परिणत हुँदासमेत सरोकारवालाले कुनै चासो नदेखाएकोप्रति सिन्धुली र उदयपुरका ककुर खोला आसपासका स्थानीयबासीहरु आक्रोशित बनेका छन् । सिरहा जिल्लाको चोहर्वामा रहेको मारुती सिमेण्ट उद्योगको लागि चुनढुङ्गा ढुवानी गर्न कटारी-२ देवीधाममा रहेको ओम शिवम् मल्टिप्रोज कन्ट्रक्न्सनले जिम्मा लिएको छ ।
हिउँद महिनाभरी नै खोलाको पानी धमिल्याउनाले गाईगोरु तथा बाख्राहरु खोला किनारामा चराउँदा बिरामी समेत पर्ने गरेको ककुर ठाकुरका थिर मगरले बताए । खोला दुषित बन्दै गएपछि पशुपक्षी र किसानले लगाएको बालीमा विभिन्न रोगहरु लाग्ने गरेको मगरले बताए ।
यसबाट प्रत्यक्षरुपमा उदयपुरको हर्देनी, सिरीसे, कटारी, त्रिवेणी र सिन्धुलीको ककुर ठाकुर, झाकुरीटार, लदाभिर, गाउँ बिकास समितिका स्थानीयबासी मर्कामा परेको त्रिवेणीका स्थानीय सञ्चारकर्मी नवराज दहालले बताए । ‘खोला धमिलो भई बग्ने र सोही पानीबाट आसपासमा रहेका खेतहरुमा बर्षे धान रोप्न सिचाईं गरिने हुँदा पानीकै कारण धानको विउ नै उम्रन कठिनाई हुने गरेको छ’, दहालले भने । खानीबाट निस्कने ढुङ्गा मिश्रीत लेदो आउने गरेकोले सयौं हेक्टर जमीनमा लगाईने बर्षे धान त्यस क्षेत्रका कृषकहरुले लगाउन नै छाडेका छन् ।
धान उत्पादनमा ह्रास आउन थालेपछि किसानहरुले खानी उत्खननलाई ब्यबस्थित र आधुनिकीकरण गर्नुपर्ने माग गरेका छन् । प्रदुषण र खोलाको सतहको मापन नगरी यसरी मापदण्डविपरित जथाभावी चुनढुङ्गा उत्खनन गर्दा आम जनता मर्कामा परेको सञ्चारकर्मी दहालले बताए । उनले भने, ‘चुनढुङ्गा उत्खनन गर्दा यसको वातवरणीय प्रदुषण, वनजंगल र खोलानालाका समस्यालाई मध्यनजर गरिनु पर्दथ्यो, त्यो हुन सकेन ।’
यस्तै हो भने अबको केही बर्षभित्र धान, मकै, कुनै पनि वाली उत्पादन नहुने उनको भनाई छ । चार बर्षको अन्तरालमा मात्र कटारीको तित्रिबोट, गबुँवा, हर्देनीको बसेरी, सक्रबास, र सिन्धुलीको ककुर ठाकुर, झाँक्रीटार, लदाभिर आसपासका खेतहरु मरूभूमिमा परिणत भईसकेका छन् ।

खेतीयोग्य जमीन बगरमा परिणत हुँदासमेत सिमेन्ट उद्योग र सरोकार निकायले सर्बसाधारणको समस्याप्रति चासो नदिएकोले अब खानी पीडित संघर्ष समिति बनाएर संघर्षका कार्यक्रम तयारी गर्न लागेको पिडितहरुले बताएका छन् । आफ्ना समस्या सरोकार निकायसमक्ष पुर्‍याउँदासमेत सुनवाई नभएकोले आन्दोलनको बिकल्प नभएको बताईएको छ ।
बर्षाको समयमा खोलाले बगाएर ल्याउने ढुङ्गाको कारण खेतभन्दा ककुर खोलाको सतह अग्लो भएपछि खेतमा खोला कुद्ने गरेको छ । चुनढुङ्गा ढुवानी गर्न प्रयोग गरिने सिरहाको मिर्चैयाबाट सिद्धिचरण राजमार्गको कटारी मिर्चैया सडक समेत जिर्ण बन्दै गइरहेको छ । दैनिक रुपमा चल्ने झण्डै तीन सय मालबाहक ट्रिपरले सडक क्षमताभन्दा बढी लोड लिई चल्ने हुँदा सडकसमेत क्षतविक्षत बनेको छ । ट्रकको कारण उड्ने धुवाँ धुलोले दिन प्रतिदिन सिद्धिचरण राजमार्ग आसपासका स्थानीयबासीको जनजीवन कष्टकर बन्दै गईरहेको स्थानीयबासीको भनाई रहेको छ । सो क्षेत्रमा अव्यवस्थित र मापदण्ड विपरित ट्रिपर सञ्चालन हुँदा कालोपत्रे भएको दुई वर्ष नवित्दै सडक जिर्ण बनेको छ । सडक जिर्ण हुँदा उदयपुरको दोश्रो व्यापारिक केन्द्र कटारीका साथै लेखानी, घुर्मि, रुपाटार, ओखलढुंगा, सोलुखुम्बु र खोटाङका हज्जारौ यात्रुहरुलाई असहज हुने गरेको छ ।

रामप्रसाद भट्टराई (सचिन)

बर्गिकरण: फिचर

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ । आफ्ना लेख रचनाहरू यहाँ प्रकाशित गर्न चाहनुहुन्छ भने purbelitimes@gmail.com मा इमेल गरि पठाउनु सक्नु हुनेछ ।


Warning: require_once(/home/netkh0/public_html/purbelitimes/wp-content/themes/aristo/footer.php) [function.require-once]: failed to open stream: Permission denied in /home/netkh0/public_html/purbelitimes/wp-includes/template.php on line 441

Fatal error: require_once() [function.require]: Failed opening required '/home/netkh0/public_html/purbelitimes/wp-content/themes/aristo/footer.php' (include_path='.:/usr/lib/php:/usr/local/lib/php') in /home/netkh0/public_html/purbelitimes/wp-includes/template.php on line 441